नव निर्वाचित पदाधिकारीहरुलाई पत्रकार महासंघको प्रमाणपत्र


कलैया,०७ बैशाख/ नेपाल पत्रकार महासंघ बारा शाखामा नवनिर्वाचित पदाधिकारी,कार्यसमिति तथा पार्षदहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ भने उनीहरुको पदस्थापना पनि गरिएको छ ।
बारा उद्योग बाणिज्य संघमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारी,कार्यसमितिका सदस्य तथा पार्षदहरुलाई पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि गोबिन्द देवकोटा, मुख्य निर्वाचन अधिकृत परमहंस केशरी तथा बाराका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले सो प्रमाण पत्र प्रदान गरेका हुन् । प्रमाण पत्र बितरण समारोहमा आफ्ना धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि सामुदायिक रेडियो प्रसारण संघका महासचिव एवम् पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि गोबिन्द देवकोटाले पत्रकार समाजको सम्पत्ति भएका कारण समाजप्रति बढी जिम्मेवार बन्न आग्रह गरे ।
उनले पत्रकारसंग जनताले धेरै कुराको आशा गर्ने भएका कारण पनि पत्रकारितालाई जनता केन्द्रित
गर्न सुझाव दिए । उनले बारामा निर्वाचित पत्रकार महासंघको टोलीले बाराको पत्रकारितामा ठूलो योगदान लिने बिश्वास आफ्नो रहेको बताए । कार्यक्रमलाई संबोधन गर्दै बाराका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले प्रशासनले राम्रो काम गर्दैन भन्ने कुरा जनतालाई लाग्ने गरेको भएपनि पत्रकारले भने जनताका लागि सत्य कुरा मात्रै लेख्छन् भन्ने छाप रहेका कारण पत्रकारितामा बढी गम्भीर र संवेदनशील बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा निबर्तमान अध्यक्ष लक्ष्मी साहले नवनिर्वाचित अध्यक्ष कमल कुमार उपाध्यायलाई पत्रकार महासंघ बाराको निर्णय पुस्तिका हस्तान्तरण गर्दै पदस्थापना गरेका छन् । सुरुमा उनकै अध्यक्षतामा भएको कार्यक्रम निर्णय पुस्तिका हस्तान्तरणपछि उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो । शाखाका सचिव जयनारायण यादवको संचालनमा र उपध्यक्ष राकेश पांण्डेले स्वागत मन्तब्य राखेको कार्यक्रममा बरिष्ठ पत्रकार उमेशलाल दास लगायतले आफ्ना शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको समापन गर्दै पत्रकार महासंघ बाराका अध्यक्ष  कमल कुमार उपाध्यायले पत्रकार महासंघ सबैको साझा सम्पत्ति भएका कारण यसको गरिमा र प्रतिष्ठा बचाउनका लागि सबैको साथ लिएर आफू अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्  । शनिबार सम्पन्न भएको पांचौं जिल्ला अधिवेशनबाट उपाध्यायकै अध्यक्षतामा नयां कार्यसमिति चयन भएको हो ।


SHARE THIS

Author:

Facebook Comment