हाम्रो हेटौंडा, राम्रो हेटौंडा ! २०३६ सालमा भएको आन्दोलनमा नेपालको एकनम्बर बनेर तत्कालीन मुगाली थापा काजीको सरकारलाई थरथर पारेको ठाउ ! आन्दोलन गर्न सिकाउने गुरु चैँ हाम्रै भुटनदेबी हाइ स्कुलको हेडमास्टर बद्रि प्रसाद खतिवडा र तिनका सुयोग्य सु-पुत्र भनाउँदो बिरोध खतिवडा ! चिनेको इनै दुइ जना हुन अरु चैँ चिन्दिन म !भर्खर हाइस्कुलमा छिरेको जोस थियो हामीमा ! जोसको तालमा आफै पढेको स्कुल धरी तोडफोड गर्न बाकि राखेनौ भने अन्तको झन के कुरा गराई भो ! त्यो ३६ साले आन्दोलनमा फरेस्ट्री क्याम्पसको डिन लाइ कुखुराको भाले बनाउने देखि लिएर उक्त फरेस्ट्री क्याम्पस भित्र तोडफोडका साथै लहडबाजीमा औधोगिक क्षेत्रको समेत धेरै उधोग तोडफोड गर्न बाकि राखेनम ! ठ्याक्कै अहिले बैध्यको ड्यास माउबादि पार्टीको जस्तो ! अहिलेका पार्टिका नेताहरुलेपनि हामि बाटै प्रेरणा पाएर नै यस्तो कार्य गर्न उक्स्यायेका होलान ! सम्झेर अहिले पछुतो लाग्छ !
अस्तिन एकताका छुट्टीमा नेपाल गाको बेलामा एकजना गाम्ले दाज्युलाइ सोधे, हैन आजकल हाम्रो हेटौंडा किन सेलाको हँ ? उत्तर आयो काहा जाने आन्दोलन गर्न ? पहिला कांग्रेस र
मालेले सिकाउथ्यो ! अहिले अघाएर कुन दुलो पसेका छन थाहा पत्तो छैन ! फेरी आन्दोलन गर्नलाइ फौज पनि त हुनु परयो नि ? हज्जारौको जुलुस निकाल्ने कपडा उधोग लाइ क्वाप्लाक्क हाम गरीहाले,अहिले भुत घर जस्तो भाको छ ! लोहिया माडेलाइ साबुनको डल्लोले हिर्काएर साबुन कारखानानै बन्द गर्न बाध्य पारेको थियो अहिले आएर फेरी बिस्तारि सुरु गर्न लाग्याछरे ! अलि अलि भाको कारखानालाइ अहिलेको नया र पुरानो माउबादीले ठिक पार्दैछन ! कुन त्यो पनि बन्द हुन्छ अनि न रहे बास न बजे बासुरी ! भाका अलिअलि सयकडा ५ काडेर खाडी,मलेसिया छिरेका छन ! अनि अरु बाकि रहेका हामि जस्तै बेरोजगार ! अनि दिनभरी लुडोको गोटी नहल्लायेर के गर्ने त भाइ ?
छक्क पर्दै सोचे आन्दोलन गर्न सिकाउने गुरु बिरोध खतिवडाहरुले पटक पटक चुनाव जिते ! तर आज तिनको कार्यकर्ताहरु घरका न घाटका भएछन ! मनै अमिलो भयो ! म पनि हिजो जागिर छोडेर बेरोजगार भाको थिए ! आफनै पौरखले मुग्लान भासिए ! पैसा हुने त जान्छन काम र मामको खोजीमा बिदेस तर नहुनेले के गर्ने ? हामि युवाहरुत तिनका पार्टीको झण्डा बोकिदिने, हुलदंगा, बन्द हड्तालमा भाग लिएर पार्टीको कार्यक्रम सफल गराई दिने साधन मात्रपो भएछौ !
हिजो पंचायत फ्याँकेर प्रजातन्त्र, अझ त्यतिलेनि नपुगेर अहिलेको धर्म निरपेक्ष लोकतान्त्रिक गणतन्त्र ल्याएकोत यहि दिन देख्न लाइपो रैछ ? हिजो कति मज्जाले चलेका थिए औधोगिक क्षेत्र भित्रको सबै कलकारखानाहरु ! नाफामा चलेर बोनस खुवाउने एकसे एक ती कलकारखानाहरु भटाभट बन्द भए र अझै कति बन्द हुने हुन ! बर्सौ बर्ष देखि त्यही कारखानाहरुको बाटो भएर हिड्छु म ! त्यो फुंग रंग उडेर बन्द भएको उधोग तथा कल कारखानाहरु देख्दा आँखा रसाउँछ, मनै भक्कानिएर आउछ उफ्फ़ ...