घरमा खान छाडेर वा अनेक बहाना बनाउँदै रेष्टुरेन्ट धाउनेहरू क्यान्सरका शिकार बन्दै गएका छन्। लामो समयदेखि क्यान्सर उपचारमा संलग्न चिकित्सकहरूको अनुभवमा पछिल्लो दिनमा पेटका क्यान्सरका बिरामीको कारण खोजी गर्दा यस्तो देखिएको हो।पेटको क्यान्सरका बढ्दो बिरामीमध्ये सबैजसो रेष्टुरेन्ट संस्कृतिमा बढी अभ्यस्तहरू पाइएका छन्। ‘नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सरका बिरामी भेटिन्थे’, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ डा. सुदीप श्रेष्ठले भने- पछिल्ला दिनमा पेटका क्यान्सर रोगी बढ्दैछन्, जसको कारण खोज्दै जाँदा स्वादको पछि दौडिने रेष्टुरेन्ट संस्कृति भेटिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार १३ प्रतिशत नेपालीलाई क्यान्सरको समस्या छ। केही वर्षअघि भरतपुर क्यान्सर अस्पतालले गरेको एक अध्ययनले तीमध्ये झण्डै ६ प्रतिशतलाई पेटको क्यान्सरको समस्या थियो। अहिले कम्तिमा पनि १० प्रतिशतमा पेटको क्यान्सर भएको चिकित्सक बताउँछन्। ‘मकहाँ नै आउने बिरामीमा पनि धेरै पेट क्यान्सरका हुन थाले’- डा. श्रेष्ठले भने। नेपालमा हालसम्म पुरूषमा फोक्सो र महिलामा स्तनको क्यान्सर बढी थियो।