काठमाडौं, वैशाख १९ । विभिन्न राजनीतिक दल र व्यावसायिक क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरुले संविधानसभा चुनावको नाममा सुरु भएको नागरिकता वितरणप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । अन्यथा गाउँ–गाउँमा पुगेर वितरण गरिने नागरिकताले राष्ट्रियतालाई कमजोर पार्ने उनीहरुको दाबी रहेको छ ।
नेकपा–माओवादी लगायतका ३३ दलले आज आज राजधानीमा गरेको कार्यक्रमका वक्ताहरुले कुनै तयारी विना हतारमा नागरिकता वितरण गरिँदा गैर–नेपालीहरुले समेत नागरिकता पाउने र यसले राष्ट्रियतामा दीर्घकालीन समस्या नित्याउने बताए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले राष्ट्रियता, नागरिकता लगायतका विषयमा राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताए । अहिलेको नागरिकता वितरण प्रणाली नै गलत रहेको भन्दै उनले बाधा अड्काउ फुकाउने आदेश चुनावको लागि हो वा नागरिकताका लागि हो स्पष्ट हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी नेकपा एमालेका नेता रघुजी पन्तले तराईबाट गैर–नेपालीहरुले समेत नागरिकता लिएको भन्दै राष्ट्रियताको विषयमा तराईका जनतामा चेतना फैलाउनु आवश्यक रहेको जिकिर गरे ।
कार्यक्रममा अधिवक्ता डा. चन्द्रकान्त अधिकारी, पूर्व महान्यायधिवक्ता डा.युवराज संग्रौला, नेकपा–माओवादीका सचिव देव गुरुङ लगायतले राष्ट्रिय हीतलाई केन्द्रविन्दुमा राखेर नागरिकता सम्बन्धी कानून तर्जुमा गर्नुपर्ने धारणा राखे ।