वैशाख १८, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्म अटाउने प्रजातन्त्र र सुदृढ स्वयत्त शासन सहितको संघीयता नै आफ्नो चुनावी एजेण्डा भएको बताउनुभएको छ ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा थापाले कसको कारणले पहिलो संविधानसभाबाट संविधान बन्न नसकेको भन्ने समिक्षा गर्दै त्यसको विकल्प रोज्नुपर्ने बताउनुभयो । ‘अरु पार्टी प्रतिरक्षात्मक अवस्थामा छन्, राप्रपा नेपाल आक्रमक अवस्थामा भएको छ’ थापाले भन्नुभयो ।
एमाओवादी, काँग्रेस र एमाले असफल भइसकेका एजेण्डाहरु बोकेर चुनाव जान लागेको भन्दै उहाँले उनीहरु अगाडी आए दोस्रो संविधानसभाबाट पनि संविधान बन्न नसक्ने दावी गर्नुभयो । थापाले केही राजनीतिक पार्टीले मजदूरहरुलाई राजनीतिक अभिष्ट पूरा गर्ने हतियार बनाएको आरोप लगाउनुभयो ।
राप्रपा नेपालका महासचिव चन्द्र बहादुर गुरुङले जुन पार्टी र व्यक्तिले सर्वहारा वर्गको लागि लडेको भन्थे उनीहरु नै श्रमचोर भएको आरोप लगाउनुभयो । सत्तामा पुग्नेबेला मजदूरको नाम लिनेहरु सत्तामा पुगेपछि मजदूरलाई नै लात हान्ने गरेको उहाँले बताउनुभयो ।