
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वर्तमान सरकारको प्रमुख कार्य संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने भएकाले निर्वाचनलाई सार्थक तुल्याउन सरकार लागिपरेको बताउनुभएको छ ।
रत्नराज्य उच्च माध्यमिक विद्यालयको ५२ औँ वाषिर्कोत्सव समारोहलाई शनिवार सम्बोधन गर्दै उहाँले संविधानसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी राष्ट्रनिर्माणको द्वार उघार्ने कार्यमा सक्रिय रुपमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
रेग्मीले भन्नुभयो-”आगामी निर्वाचनमा सबै वर्ग, जाति, भौगोलिक क्षेत्र, धर्म, लिङ्ग र संस्कृतिको प्रतिनिधित्व गरी नयाँ संविधान निर्माण गर्ने कार्यलाई सार्थक तुल्याउनु रहेको छ ।”उहाँले राजनीतिक स्थायित्व नहुँदा मुलुकमा हालसम्म विगतका घोषित लक्ष्य हासिल गर्न नसकिएको भन्दै अहिले अत्यन्त तरल राजनीतिक सङ्क्रमणकालमा रहेको मुलुकलाई निकास दिई स्थायित्व कायम गर्नुपर्ने आवश्यकता
रहेको बताउनुभयो । रेग्मीले देशको सामाजिक तथा आर्थिक विकासमा शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई समयसापेक्ष आधुनिकीकरण गरी गुणस्तरीयतामा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
विद्यालयको शैक्षिकस्तर उकास्नका लागि शैक्षिक पाठ्यक्रम, विद्यार्थीहरुको सहभागिता, विद्यालयको भौतिक पूर्वाधारको विकास अनिवार्य भएको र यसमा राज्यले आफ्नो सम्पूर्ण ध्यान केन्दि्रत गर्दै आइरहेको छ भन्दै उहाँले भविष्यमा पनि सरकारले शैक्षिक विकासका लागि भौतिक पूर्वाधार र संरचना विकासमा क्रियाशीलता बढाउने विश्वास दिलाउनुभयो । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी संविधानसभाको निर्वाचन निष्पक्ष, भयरहित र उत्कृष्ट ढङ्गबाट सम्पन्न गरी देशलाई स्थायित्व दिन आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।काठमाडौँका जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले सामुदायिक विद्यालयको शैक्षिकस्तरलाई परिस्कृत र नमुनाका रुपमा अघि बढाउन सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।