काठमाडौं, फागुन २४ - नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ । सोमबार भएको दोश्रो चरणको मतदानमा रामचन्द्र पौडेललाई बहुमतले पराजित गर्दै देउवा पहिलो पल्ट नेपाली कांग्रेसको सभापतिमा चयन हुनु भएको हो ।देउवाले १८ सय २२ मत पाउनु भयो भने पौडेलले १२ सय ९६ मत पाउनु भयो । कुल ३१ सय २० मत खसेकोमा बाँकि मत बदर भएको छ । देउवा सभापतिमा विजयी भएसँगै मतगणना स्थलमा अहिले उहाँका समर्थकले नारावाजी गरेर खुसीयाली मनाइरहेका छन् ।
आइतबार भएको चुनावमा देउवा, पौडेल र अर्का उम्मेदवार कृष्णप्रसाद सिटौला कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत नल्याएका कारण सोमबार दोश्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा कम मत ल्याउने सिटौला बाहिरिएका कारण सोमबार देउवा र पौडेलबिच प्रतिस्पर्धा भएको हो ।
उहाँ २०५७ सालमा पोखरामा भएको दशौं महाधिबेशनदेखि कांग्रेसको सभापतिमा उठ्दै आउनु भएको थियो । २०५७ सालमा गिरिजाप्रसाद कोइरालासँग हारेका देउवाले २०६७ सालमा भएको बाह्रौं महाधिबेशनमा सुशील कोइरालासँग पराजय भोग्नु भएको थियो ।
२०६२ सालमा कांग्रेसको एघारौं महाधिबेशन हुनु अघि नै देउवाले नेपाली कांग्रेस त्यागेर नेपाली कांग्रेस प्रजातान्त्रिक स्थापना गर्नुभएको थियो । नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एक भएपछि बाह्रौं महाधिबेशन भएको थियो ।
श्रोतः उज्यालो