वीरगञ्ज, २१ फाल्गुन ।
वीरगञ्ज भंसार कार्यालयका प्रमुख भंसार अधिकृत सेवन्तक पोखरेल र वीरगञ्ज उद्योग वाणिज्य सङ्घबीच भेटघाट तथा अन्तरक्रिया आज एक समारोहमा बीच सङ्घकै सभाकक्षमा सम्पन्न भएको छ ।

प्रमुख भंसार अधिकृत श्री पोखरेलले छलफलमा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुँदै भंसारलाई राजस्व असुल गर्ने निकायको रुपमा नहेरी व्यापार सहजीकरण गर्ने निकायको रुपमा “भंसार–व्यापारी साझेदार” अवधारणालाई प्रभावकारी रुपमा अघि बढाउने भंसारको लक्ष्य रहेको छ । उहाँले आगामी आषाढ मसान्तभित्रदेखि नै वीरगञ्ज भंसार कार्यालयको जाँचपास व्यवस्थालाई अनलाईन मार्फत् गरिने जानकारी गराउनुहुँदै भंसार जाँचपास पश्चात् आन्तरिक ओसारपसारमा हुने समस्यालाई भंसार बिन्दुमा नै न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सङ्घका सचिव अनिल अग्रवाल (पटवारी), का.स.स. रमेश अग्रवाल, माधव राजपाल, सुमन क्याल, आशीष लाठले भंसार सम्बन्धी समस्याहरु छलफलका क्रममा राखेका थिए । सङ्घका उपाध्यक्ष सुबोध गुप्ताले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सङ्घका सचिव दीपक टिबडेवाल, सह–सचिव मनोज शर्मा, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयलका साथै सङ्घका का.स.स.हरुको उपस्थिति रहेको थियो ।