काठमाडौँ, २१ मङ्सिर, भूतपूर्व प्रहरी संगठनले एसएसपी रमेश खरेललाई उत्कृष्ट प्रहरी अधिकृतका रुपमा सम्मान गरेको छ । भरतपुरमा भएको संगठनको २४औँ वार्षिक साधारणसभामा शनिवार खरेललाई सम्मानित गरिएको हो । संगठनका अध्यक्ष वसन्तराज कुँवरले उनलाई प्रशंसापत्रसहित सम्मान गरे । भेलाले कार्यवाहक अध्यक्ष रहेका पूर्वएसएसपी कुँवरलाई संगठनको राष्ट्रिय अध्यक्षमा सर्वसम्मत चयन पनि गरेको छ । साधारणसभामा पूर्वएआइजी कल्याण तिमल्सिनालाई वरिष्ठ उपाध्यक्ष तथा पूर्वएआइजीहरु अमरसिंह शाह, रुपसागर मोक्तान, अर्जुनजंग शाही, विनोद सिंह तथा पूर्वडिआइजी वीरशरण थापालाई उपाध्यक्षमा मनोनयन गरिएको आजको नयाँ पत्रिकाले समाचार लेखेको छ । भेलाले संगठनका वरिष्ठ उपाध्यक्ष गन्जसिंह गुरुङले अनुशासनहीन काम गरेको तथा संगठनलाई नै आँच आउने प्रकारको अभिव्यक्ति दिएकाले अविश्वासको प्रस्ताव दर्ता गराई कारबाही अघि बढाउने निर्णय समेत गरेको छ ।
