भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले दुई पटक नेपाल भ्रमण गर्नु भएको थियो । नेपाल भ्रमण गर्ने पाँचौ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा भव्य एवं ऐतिहासिक स्वागत भयो । सबै तह र तप्काका
नेपाली जनताहरूले मोदीको स्वागत र संविधानसभा, व्यवस्थापिका संसदको बैठकमा दिनुभएको सारगर्भीत संवोधनको सर्वसम्मत करतल ध्वनीका साथ समर्थन भयो । भारतीय प्रधानमन्त्रीको संवोधनले नेपालीको मन जितेको छ । नयाँ नेपाल निर्माणमा नयाँ कुटनीतिक ढंगले भारतले सहयोगी हात बढाउने संभावना देखा परेको छ । साउथ ब्लकले नेपाललाई हेर्ने र नेपालमाथि गर्दै आएको व्यवहारमा व्यापक फेरबदल हुने आशा पलाएको छ । आइ.के. गुजरालको नेपाल भ्रमणपछि नेपाल–भारत सम्बन्ध कुटनीतिक र राजनीतिक नभएर भारतीय गुप्तचर अर्थात् जासुशी संस्था ‘रअ’को घेराबन्दीमा रह्यो । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि नेपालमाथिको भारतीय ‘रअ’को जालो तोडियोभने मात्र नेपाल–भारतबीच सौहार्दपूर्ण सम्बन्ध कायम हुन सक्दछ । भारतीय प्रधानमन्त्री मोदीले भ्रमणका बेला बोलेर गएको कुरा व्यवहारमा अक्षरस देखिन्छ भनेमात्र नेपाल–भारतबीच नयाँ कुटनीतिक सम्बन्धको प्रारम्भ हुन्छ जुन कोशेढुंगा साबित हुन सक्दछ । अनिमात्र नेपाल–भारतबीच विश्वासको मैत्रीपूर्ण सम्बन्ध सधैंकालागि कायम हुन सक्दछ, आर्थिक कुटनीतिक पनि सफल हुन सक्दछ ।
भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले भ्रमण गर्दा ताकाको नेपाल र अहिले नरेन्द्र मोदीले भ्रमण गर्दाको नेपालबीच हरेक क्षेत्रमा ठूलो अन्तर आइसकेको छ । नेपाल र भारतबीचको अविश्वासमा कुनै अन्तर आएको छैन । भारतको गलत नीति र व्यवहारबाट मोदीको भ्रमण अवधिसम्म ठगिंदै र चेपिंदै आएको छ । मोदीको भ्रमणपछिको नेपाललाई हेर्ने दृष्टिकोण, नेपालप्रतिको नीति र नेपाल–भारत सम्बन्ध ऐनामा झैं छर्ल· देखाउँछ । नेपाली जनताहरु ठूलो अपेक्षाका साथ प्रतिक्षामा छन् । पशुपति दर्शनका समयमा श्री पशुपतिनाथका मूल भट्टबाट महादेवको आँखाको चन्दन (दृष्टि प्रसाद) पाएका भारतीय प्रधानमन्त्री मोदीको द्विपक्षीय समान हितका सम्बन्धमा दृष्टि खुल्यो भने निश्चित रुपमा नेपाल–भारत बीच विद्यमान सबैखाले अविश्वास र असमान सन्धि सम्झौता खारेज भई नेपाल–भारत सम्बन्धमा सुनौलो विहानी शुरुवात हुनेछ । यसबाट नेपाल–भारत दुबैलाई अति फाइदा पुग्ने छ । भगवान श्री पशुपतिनाथले नेपाल–भारतबीच विद्यमान सबैखाले समस्याको समाधान, असमान सन्धि सम्झौताको खारेजी, सन् १९५० को सन्धिको पुनरावलोकन, नेपालको सीमा अतिक्रमण र नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गर्ने नीति, नेपाललाई असल छिमेकीको आँखाले नहेर्ने दृष्टिकोण, नेपाललाई नियन्त्रण र प्रभावमा राख्ने सार्वभौम राष्ट्रका रुपमा स्वतन्त्र हुन नदिने भारतीय नीतिमा आमूल परिवर्तन गर्ने वरदान दिउन हाम्रो कामना छ । नयाँ विश्वास कायम भए नेपाल–भारत सम्बन्ध अवश्य सुदृढ हुनेछ । असल छिमेकीको भरपुर फाइदा दुबै राष्ट्रले उठाउन सक्ने छन् ।
भारत र चीनका बीचमा निकटता बढ्दै गएको वेला भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत सम्बन्धमा नयाँ आयाम थप्ने मनसायले नयाँ भिजन ल्याउनु अति सह्रानीय छ । नेपाल भारत सम्बन्ध सौहार्दपूर्ण रुप्मा अमर रहोस् भन्ने कामना सिंगो देश नेपालका सम्पूर्ण सार्वभौम नेपालीको छ । नेपाल–भारतबीचको ऊर्जा व्यापारका बारेमा जे–जति चर्चा र छलफल भयो त्यसले पिटिएकालागि उचित बाटो खोलिदिनेछ । भारतले पठाएको मस्यौदामा संझौता भएको भए नेपाल–भारत सम्बन्धमा ठूलो अनिष्ट देखा पर्ने थियो तर टर्यो । नेपाली पक्ष जसरी गृहकार्यमा अहिले जुटिरहेको छ, राजनीतिक दलहरू राष्ट्रिय सहमति र द्विपक्षीय हितका सवालमा मिल्न खोजेका छन् भने यसले भविष्यकालागि राम्रो संकेत गरेको छ । मोदीको भ्रमणका क्रममा विद्युत व्यापार बारे सम्झौता नहुँदा दु:ख व्यक्त गर्ने ठाउँ छैन । मोदीबाट नेपालले मोती लिन सक्नु पर्दछ । विश्वास र प्रतिस्पर्धाको व्यापार गर्नु पर्दछ । नेपाल भ्रमणका सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीको गाथा नेपालमा निकै गाइयो, भ्रमणलाई उच्च प्राथमिकता दिइयो । संचारमाध्यमहरुले खुबै हाइलाइट गरे । मोदीको पशुपतिनाथ दर्शन र व्यवस्थापिका संसदको संबोधनले नेपालमा असक्षम पार्टीका नेताहरूलाई निकै पाठ सिकाएको छ । राजनीति संस्कार र संस्कृति, राजनीतिक नेतृत्त्वको उचाई कस्तो हुनुपर्छ भनेर नेपालका नेता भनाउँदाहरूको आँखा खुलाएको छ । मोदीको व्यवस्थापिका संसदको संबोधनका बखत मन्त्रमुग्ध भएर बसेका सभासदहरूले भोलिका दिनमा नेपालको विकासकालागि के सिकेर के दिन सक्छन् ? मोदीको संवोधन एक कानले सुनेर अर्को कानले उडाउने हुन् कि संवोधनको मर्म बुझेर चनाखो भएर आवश्यक र गर्नुपर्ने सबै काम गर्ने हुन् ? नेपाल–भारतबीच विश्वास कमजोर भएको वा अविश्वास बढेको बेलामा नेपालले व्यापक गृहकार्य बिना भारतमा दिर्घकालिन असर पर्ने कुनै पनि सम्झौता गर्न तम्सनु भनेको मूर्खता हो । जनताहरूले खबरदारी गर्दा–गर्दै राष्ट्रिय स्वार्थलाई भन्दा भारतीय स्वार्थलाई फाइदा पुग्न जाने सम्झौता गर्नु राष्ट्रिय अपराध हो । यस पटकको मोदीको भ्रमणमा नेपाली पक्षले राष्ट्रिय अपराध गरेन, भारतीय पक्षले विश्वास बढाउने प्रयत्न गर्यो । यसलाई सफल र ऐतिहासिक मान्नु पर्दछ ।
व्यवस्थापिका संसदमा मोदीले भनेका कुराले सधैंकालागि केही विश्वास पलाएको छ । गौतम वुद्ध नेपालमा जन्मिएको हो र नेपाल सार्वभौम स्वतन्त्र राष्ट्र हो भनि ठोकुवा गरे । भारतको अँध्यारो नेपालले हटाउँछ भनेर विश्वास व्यक्त गरे । नेपालको विकासकालागि तीनवटा मन्त्र अघि सार्दै भारतीय प्रधानमन्त्रीले हाइवेज (सडक मार्ग), आइवेज(सूचनामार्ग) र ट्रान्सवेज (विद्युत प्रशारण मार्गबाट हिट गरौं भने ।
नेपालले अंगालेको संघीय लोकतान्त्रिक गणतन्त्र उत्तम बाटो हो भने । भारतले नेपाललाई एक अर्ब अमेरिकी डलर (करिब एक खर्ब रुपैयाँ) नेपालको पूर्वाधार तथा जलविद्युत विकासका लागि सहुलियत ऋण उपलब्ध गराउने घोषणा गरेका छन् । मोदीले नेपालको विकास बारे यस्तो धारणा व्यक्त गरे । नेपालसँग यति ठूलो जलसम्पदा छ जसले पूरै भारतको अँध्यारो हटाउन सक्दछ । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको भारत सम्मान गर्छ । लोकतन्त्रमा विश्वास राख्ने विश्वको ध्यान नेपालमा केन्द्रित छ । नेपालको सफलताले शस्त्रको बाटोमा हिंडेकालाई शान्तिको मार्गमा फर्कन प्रेरणा दिनेछ । नेपाल–भारत सम्बन्ध कागजको टुक्राबाट नभई जनजनको मनको भावनाबाट बनेको छ । जसरी ऋषिहरुले बेद लेखे, उपनिषद लेखे, योग संहिता लेखे, नेपालको संविधानले पनि त्यस्तै नयाँ संहिताका रुपमा जन्म लिनेछ । संविधान लेखन ऋषिमन हुन जरुरी छ । जसले सय वर्ष पछिको समस्या अन्दाज गर्न सक्दछ । हामी नेपालसँग पानी नि:शुल्क लिन चाहँदैनौं, किन्न चाहन्छौं । हिन्दुस्तानले कुनै लडाई जितेको छैन जसमा नेपालीको रगत नबगेको होस् । पानी र जवानी कहिल्यै टिक्दैन । पानी पहाडबाट तल झर्छ, जवानी पनि उमेरसँगै ढल्किहाल्छ । प्राकृतिक श्रोतका बारेमा तपाईं जे निर्णय गर्नुहुन्छ, हामी त्यसमा साथ दिन तयार छौं । भारतलाई बिजुली बेचेर मात्रै नेपाल समृद्ध बन्न सक्छ । दुनियाँमै जडिबुटिको ठूलो निकासीकर्ता हुने खुबी राख्छ, साहसिक पर्यटनमा विश्वलाई पागल बनाउने तागत राख्दछ, के छैन नेपालसँग ? तपाईंहरुका यी सामथ्र्यलाई अघि बढाउन म काँधमा काँध मिलाएर हिंड्न चाहन्छु । नरेन्द्र मोदीले पञ्चेश्वर धेरै पहिले तय भइसकेको आयोजना हो, आजसम्म यसको लागत धेरै बढिसकेको छ । पंचेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माण एक वर्षभित्र शुरु गर्न सकिने बताएका छन् । दुई देशबीचको टेलिफोन शुल्क घटाउने बचन दिएका छन् । जलविद्युत पर्यटन र कृषि क्षेत्रको विकासमा सहकार्य गरेर नेपाल–भारत सम्बन्ध लाई अझ मजबुत बनाउने कुरामा जोड दिएका छन् ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार
