मोदीको भ्रमणले उजागर गरेको नेपालीको बानी

नरेन्द्र दामोदर मोदीको भारतीय प्रधानमन्त्रीको हैसियतमा भएको नेपाल भ्रमण एक यस्तो भ्रमण थियो जसमा भारत र मोदीको आलोचनाको निमित्त कुनै स्थान नै थिएन । यसो भन्दा उनको सबै भ्रमणताका क्रियाकलाप तथा बोली सबै ठिक थियो भन्ने अर्थ पनि लगाइनु हुन्न । समग्रमा भारत प्रतिको पूर्वाग्रह जनित व्याप्त धारणा नरम बनाउन मोदी सफल भए । प्रयाप्त गृहकार्य गरेर हरेक परिस्थितिलाई सकेसम्म आफ्नो अनुकुल बनाउन मोदी खप्पिस छन्, यो कुरा भारतको पछिल्लो लोकसभा निर्वाचमा देखिएको कुरा हो । यस्तै कुशलता नेपाको भ्रमणमा पनि उनले देखाए । नेपालको संसदमा उनले भारतको ठुल्दाजुपन यति कुशलताले प्रदर्शन गरे कि त्यसको समर्थनमा नेपाली जनताले चुनेका प्रतिनिधिहरुले टेबल ठटाए, उल्टो डोको बेकाएको पत्तै पाएनन् । यो अत्यन्त दुष्कर कार्य सफल बनाउन बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुराको प्रचारमा जीवन–मृत्यु देख्ने राष्ट्रवादी, मोदी आए अब हिन्दु राष्ट्र र राजसंस्था फर्काइ दिन्छन् भनेर मुतको न्यानोमा रमाउने अल्छी राजावादी र ती अल्छेको कुरा पत्याउने बोक्रे गणतन्त्रवादी उनका औजार भए ।
उनले व्यवस्थापिका संसदमा दिएको भाषणको समग्र विवेचन एक आलेख भित्र अट्न सम्भव पनि छैन र त्यो प्रयत्न पनि यस आलेखमा गरिने छैन । समग्र भ्रमण र त्यसको प्रभावको मोटामोटी विवेचनमा सिमित रहने छ । मोदीको शैली आफुलाई हानेको ढुंगा टिपेर त्यसैबाट सिंडी बनाएर माथि चढ्ने हो त्यसैले जव मोदीको भ्रमणका कुरामा केही आलोचनाको कुरा सामुन्ने आयो उनले आफ्नो रणनीतिलाई त्यसै अनुरुप परिमार्जन गरे । यसका निमित्त कहाँ कहाँ क–कसलाई कसरी प्रयोग गर्नु पर्दछ त्यसमा मोदी निपुर्ण छन् । उनको निर्वाचनताका उनलाई बनारसमा आमसभा गर्न रोकिएको अवस्थालाई जसरी आफ्नो अनुकुल ढालेका थिए यहा पनि त्यही गरे । नेपालको राजाले मात्र पाउने परंपरा र मान्यता भएका कुरा समेत उनलाई प्रदान गरिंदा बोक्रे गणतन्त्रवादीहरुलाई त एक छिनको सन्तोष भयो होला राजा पाखा लगाइएको अवस्थामा यस्तो गरिनु सर्वसाधारणको मनमा मोदी राजा सरह भएको भ्रम पैदा हुन सक्छ र यो भविष्यमा खतरनाक हुन सक्छ भन्ने तर्फ कसैको ध्यान गएन । भारतिय संचार माध्यमहरुमा यो कुरा उठ्न थालिसकेको छ, यस्तो वेलामा बुद्ध जन्मभूमि, सुस्ता, कालापानी आदिका कुरा महत्वहिन हुन जान्छन् ।
सडकमा स्वागत गर्न बसेकाहरुसँग पैदल गएर हात मिलाउनुले भने नेपाल भारत विरोधी आतंककारहिरुको केन्द्र भएको छ भन्ने भारतिय अतिसयोक्तिपूर्ण प्रचारको निराकरण गरेको छ । संसदमा नेपालीमा शुरु गरेर हिन्दी प्रयोग गरिएकोमा आपत्ति गर्ने ठाँउ छैन किनभने आफूलाई मधेसका भाग्यविधाता ठान्ने नेताहरुले राम्रो हिन्दी नजाने पनि हिन्दी मै भाषण गरेर यसलाई नेपालको आधिकारिक भाषा मध्ये एक बनाई सकेका छन् । बरु नेपालीमा शुरु गरेर उनले नेपाली नेपालको प्रमुख आधिकारिक भाषा हो भन्ने कुराको जनाउ दिएका छन् । चस्नीमा लपेटिएको भाषणमा कुनै नयाँ र नौला कुरा छैनन् जुन कुरा एक देशप्रेमीले नदेखेको होस र यसबारेमा कुरा नउठाएको होस । फरक केवल यत्ति छ कि नेपालीले त्यो कुरा उठाउदा त्यसलाई प्रतिक्रियावादी, प्रतिगामी, पश्चगमनकारी भनिने गर्दथ्यो भने मोदीको प्रसंसा भयो ।
पानी र जवानी पहाडको हुँदैनन भन्ने कुरा र भारत लगायत विदेशीको निमित्त नेपालीले रगत बगाएको कुरा हरतर्फबाट उठ्ने गरेका हुन् र यो रोकिनु पर्दछ भनेर सशक्त आवाज मात्र उठेको हैन माईती नेपाल जस्ता संस्थाहरुले निरन्तर काम पनि गरिरहेको हो । महेन्द्रले “नजाउ छोडी यो देश” भनेर पुकारा गरेकै हुन् । धर्मराज थापा लगायत लेखक कलाकारले चेतना भर्न प्रयत्न गरेकै हुन् । मुलुक मै रोजगारी दिन कलकारखानाहरु पनि खोलिएकै हो जसलाई उदार अर्थनीति र नीजिकरणको नाममा बली चडाएर सरकार आफै गल्लावाल भएर वैदेशिक रोजगारीको रुपमा घाँटी निमोठिदैछ । यहि कुरालाई चास्नीमा लपेटेर नेपालका हर्ताकर्तालाई गतिलो झापड दिए मोदीले । यूवाशक्तिले मुलुकको अवस्था तुरन्त सुधार्न सक्छ भनेर । संविधान निर्माणमा पनि बहुमत र प्रक्रियाको बलले मिच्नु हुँदैन तुरन्तको हेरेर हुदैन सयबर्ष पछि पनि विवाद आउन नसक्ने बनाउनु पर्छ भनेर मोदीले भन्दा टेवल ठटाउने सभासदहरुले राप्रपा नेपाल लगायतका विभिन्न अहिले साना भनिएका दलहरुले यहि भनेको कुरै नसुन्ने गरेको भुले । अझ नेपालको संविधानमा विश्वको चासो किन छ भन्ने पनि स्पष्ट बताई दिए ।
नेपाल सार्वभौम मुलुक हो भनि रहदा नेपालको सानो भन्दा सानो कुरामा पनि आफ्नो विषेश सम्वन्धका कारण विषेश चासो र चिन्ता छ भनेर भन्नुले अनि प्रयुक्त शब्द भाव भंगिमाले भारत ठुल्दाजु हो भन्ने प्रकट गरे । भारतको पुराना शासकहरुले पनि आफूलाई ठुल्दाजु नै ठान्दथिए फरक केवल यतिभयो कि पहिले कठोर दाजु देखिएको थियो भने अहिले भातृप्रेम देखाईएको छ । विजुली भारतले किन्छ भन्दा पहिले पनि किनेकै थियो त्रिशुलीको बिजुली रक्सौल भएर भारत निकासी हुने गरेको थियो, आफुले उत्पादन पुर्‍याउन नसकेको स्थानमा भारतबाट विजुली किनेको थियो । जडीबुटिमा नेपाल धनी छ भन्ने कुरा धेरै पहिले नै नेपालले ठम्याई सकेको थियो । प्रशोधित जडीवुटी निकासी होस भनेर सरकारी स्तरमा पनि संरचना बनेका थिए । पर्याटनमा नेपालले शुरुवात गरेको त युग नै बित्न लागेको छ । भारत नेपालको के–के कुरा लिन वा किन्न चाहान्छ यो कुरा करिब करिब सबै नेपालीलाई थाहा नै छ । यस कुरालाई आधिकारिक रुपमा भारते भनेको भने यो पहिलो पल्ट हो ।
हिन्दु राष्ट्रका बारेमा प्रत्यक्ष कुरा नउठाए पनि मोदीले नेपालको महत्व नै हिन्दु चिनारीले भएको कुरा शुरुदेखि अन्त्यसम्म बारम्बार दोहोर्‍याई रहे । सम्पुर्ण नेपाल एकजृट हुनु पर्छ भन्ने कुरा सम्बोधनमा मात्र हैन भ्रमणभरी हरेक मौकामा व्यक्त गरिनै रहे । यो उनको निमित्त जरुरी पनि थियो किन भने भारतिय संविधानको धारा ३७० खारिजीको पक्षमा रहेको मोदी र मोदीको संगठनले एकताको कुरा गर्नैपर्ने थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको कुरामा मैले सुने अनुसार थपेर प्रयोग गरेका छन् । एक संघीय लोकतान्त्रिक गणतन्त्रका सरकार प्रमुखले आफ्नो मुलुकको व्यवस्थालाई सर्वोत्तम भन्नु नै पर्दछ नत्र उसलाई त्यो पदमा बस्ने कुनै नैतिक अधिकार हुँदैन । राजाले मोदीलाई ठुलो रकम चन्दा दिए भनेर भारतिय निर्वाचन ताका नेपालमा उठेका हल्ला निवाराणार्थ मोदीले यो भन्नै पर्दथ्यो । अर्को कारण संघीय लोकतान्त्रिक गणतन्त्र लेखिएको अन्तरिम संविधान अन्तरगत बनेको संसदमा पाहुनाले बोल्नु पर्ने पनि त्यही थियो । अल्छी राजावादीहरुलाई पनि घोच्न आवश्यक थियो कि विदेश हैन आफ्नो देशमा ध्यान देउ ।
मोदी भारतिय प्रधानमन्त्री हुन उनले भारतको विरोधमा नेपालमा फैलिदै गएको नकारात्मकता चिर्नु थियो, त्यो चिरे । सरकारले भेटघाटको सुची मै नराखेका राप्रपा नेपालका अध्यक्ष कमलथापालाई बोलाउन आग्रह गरे । कमल थापा व्यक्तिको रुपमा भेट्न गएका हैनन, संघीय लोकतान्त्रिक गणतन्त्रको भन्दा फरक धारलाई भेटेका हुन् । त्यो भेटमा आफ्नो नेपाली जनताको निर्णय सम्मान गर्ने मनसाय रहेको कुरा गरेर आफ्नो स्थिति प्रष्ट गरे । यसैले कोही उत्साहित हुनु वा निरुत्साहित हुनुको केही अर्थ न पहिले थियो न अब छ । बरु नेताहरुलाई तपाईहरु नेतृत्व क्षमता देखाउनुस भनेर लताडेको प्रसंगको पो चर्चा उपयोगी हुने थियो । तर हिजो मोदीको स्तुति गाउने नेपालीहरु आज उसलाई आपत्तिजनक देख्न थाले र हिजो आपत्तिजनक देख्नेहरु आज स्तुति गायक भएका छन् । नेपालीको यो समर्थनमा लम्पसार पर्ने र विरोधमा उग्र गर्ने विचमा पनि केही हुन्छ भनेर सोच्न नचहाने प्रवृतिको यो भ्रमणले उजागर गरेको छ । भारत, मोदी हिजो जुन थियो आज पनि त्यही छ भोली पनि त्यही रहला केवल नेपालीको हेराई बदलिएको छ ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment