चुरामाथिको अलकत्रापात–बिम्मी शर्मा

 ‘चुडी किनाई चुडी’ गल्लीभित्र छिर्नेबित्तिकै चुडीवालीको आवाज जोड जोडले सुनिन थाल्थ्यो । आज अवश्यपनि चुरा लगाउन पाउँछु भन्ने मनमनै सोचेर म दँगपर्दै ढोकाबाट निस्केर दैलोमा चुडीवालीलाई कुर्न थाल्थे । नजिक आएपछि ‘हमर साईज के भी चुडी आईल बा ?’ भन्ने मेरो बाल प्रश्नमाथि तातो पानी हाल्दै चुडीवालीले भन्थिन्  ‘बबी नैखे आईल, तोहर नाप के चुडी फ्याक्ट्री मे अर्डर करले बानी आई त ले आएम (नानी अहिले आएको छैन, तिम्रो नापको चुरा फ्याक्ट्रीमा बनाउन अर्डर गरेको छु, बनेर आएपछि ल्याईदिन्छु । ) त्यसपछि आमा दिदी र माईजुहरु चुरा लगाउनु हुन्थ्यो म चाँही त्यो रंगबिरंगी चुराहरु हेरेर कल्पेर बस्थे ।
   खासमा त्यो मेरो १०, १२ वर्षको कलिलो उमेर थियो जहाँ ठूलाहरुको नक्कल गर्नु र उनीहरु जस्तै बन्न केटाकेटीलाई औधी मन पर्दथ्यो  । मेरा कलिला हातहरु उमेरभन्दा बढी चौडा र मोटा भएकाले नाप अनुसारको चुरा मलाई कहिल्यै ठीक भएन । आमाहरुको नापको ठूलो हुने तथा आफ्नो उमेर अनुसारको ठीक नहुने हुँदा मलाई त्यो बालापनमा हातभरि चुरा लगाउने रहर नै भयो । आमाको हातको चुरा खेलाउंदै म आफ्नो हातमा पनि त्यस्तै झमझम बज्ने चुरी लगाएको कल्पना गर्दथे । मेरो गर्मीको छुट्टीको डेढमहिना लामोविदा पुतली खेल्ने तथा गल्लीमा चुरीवालीको आवाज सुनेर बाहिर कुद्दै बित्थ्यो ।
    चुरीवाली हरेकदिन जसो हाम्रो गल्लीमा फेरी लगाउंथिन् र हरेकदिन म आफ्नो नापको चुरी फ्याक्ट्रीबाट बनेर तयार भएर नआएकोमा निराश हुदैं ढोकाबाट फर्किन्थे । मुस्लिम समुदायकि ती चुरी बेच्ने महिला सारीमाथि लामो दुबै साईडमा कटेको र खल्ति भएको चोलो लगाउंथिन् । तीनको चालोको खल्तिमा बिडीको मुठ्ठा र सलाईको डिब्बा हुन्थ्यो । मलाई अहिलेपनि सम्झना छ, ती महिलाको पेट संधै बाहिर निस्केको हुन्थ्यो, उनी सकि नसकि चुराको ढक्की भूईंमा राख्थिन तर उठाएर टाउकोमा राख्ने बेलामा नसकेर आमाहरुले बोकेर टाउकोमा राखिदिनुहुन्थ्यो । पछि पछि मलाई थाहा हुदैं गयो कि मुस्लिमहरुमा परिवार नियोजन गर्ने चलन नभएकोले उनी हरेकवर्ष गर्भवती हुँदिरहिछन् । उनी गरिब भएकीले आफ्नो पेटको बढेको भारीलाई थामो दिन चुरी बेच्न बाध्य थिईन् । हरेकदिन उनले पेट र चुरीको ढक्की गरेर दुईवटा भारी बोक्नु पर्दथ्यो । ती चुरी बेच्ने महिला फरासिली र मायालु स्वभावकि थिईन् । त्यसैले हरेकदिन मलाई देख्ने बित्तिकै भन्थिन् ‘बबी तोहर बख्रा चुडी फ्याक्ट्री से बनके अभी ना आईल बा ( तिम्रोलागि चुरा आएको छैन । ) ’
     तर एकदिन अचम्मसित मेरो नापको चुरा फिरोजाबादको कुनै कारखाना मै बनेर वीरगंजको मेरो घरको दैलोसम्म आईपुगेछ । म गल्लीमा पुगेर सोध्न नभ्याउंदै ‘बबी यसो तोहर साईज के चुडी भी आईल बा’ भनेको सुन्ने बित्तिकै हर्षले मेरो खुट्टा भूईंमा थिएन । त्योदिन धेरैदिनपछि आमालेपनि लगाउनु भयो र मलाईपनि हातभरि हरियो रंगको चुरा लगाई दिनुभयो । त्यो दिउँसो मेरो हातको चुरा हेर्दै र बजाउंदै बित्यो ।
   त्यहीताका हाम्रो घरको पछाडिको ठूलो सडक पीच हुदैंथियो । अलकत्रा पकाएको गन्ध घरसम्म आईरहेको थियो । आमाले साँझपख घरको काममा सहयोग गर्नेलाई नाँग्लोको पछाडि दल्नकालागि त्यहाँबाट अलिकता अलकत्रा मागेर ल्याउन अह्राउनु भयो । म पनि गल्लीमा हातको चुरा छमछम बजाउंदै काम गर्नेको पछि लागेर अलकत्रा लिन गए । कामगर्नेले हातमा गिजोलेर अलकत्रा लिदैंगर्दा मलाई पनि के रहर जाग्यो कुन्नि ? मैलेपनि जान्ने भएर दुबै हात सेलाईसकेको अलकत्राको थुप्रोमा घुसाईदिए । अब मेरो दुबैहात कुहिनासम्म अलकत्राले लेपियो ।
     केही घण्टाअघि हातभरि लगाएको हरियो चुरा कालो भईसकेको थियो । घरआएपछि आमाले पहिला बेस्सरी गाली गर्नुभयो र मट्टितेल लगाएर बल्ल बल्ल मेरो हातको अलकत्रा मेटाउनु भयो । त्यतिञ्जेलमा मेरो हातका हरिया चुराहरु शहीद भईसकेका थिए । हातमा अलकत्रा र मट्टितेलको नमिठो गन्ध टाँसिएको थियो । चुरा लगाएर भोलि सबैलाई छमछम देखाउने मेरो सपनामाथि ‘अलकत्रापात’ भईसकेको थियो । अब चुडीवालीले कहिले त्यो अदृश्य चुरा फ्याक्ट्रीमा मेरो नापको चुरा अर्डर गर्लिन् र अनि त्यो कहिल्यै फ्याक्ट्रीबाट बनेर आउला र अनि म फेरि हातभरि चुरा लगाउंला ? भर्खरै लागेको साउन महिनामा जताततै चुरा र मेहँदीको चर्चा छ । बजार पूरै हरियो देखिन थालेको छ ।  हिजो दिउँसो बजार गएकोबेला एउटी ७, ८ वर्ष  कि बालिकाले हातभरि लगाएको चुराले मलाई धेरै वर्षपछि बाल्यकालको त्यो गल्लीमा लिएर गयो जहाँ मेरो हातभरि चुरा लगाउने बालशुलभ रहर कहिल्यै पूरा हुनसकेन ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment