विषादीकरण: कृषकको रहर कि बाध्यता ?–ईश्वोरा भट्टराई

नेपालको कृषिमा जब व्यवसायिकरण, वैज्ञानिकीकरण र आधुनिकीकरणको कुरा उठ्यो तब देखि विषादीकरण सुरु भयो । परम्परागत कृषि प्रणालीलाई त्यागेर, आफ्ना पुराना प्रजातिलाई मासेर कृषिको उत्पादकत्व वृद्धिका नाममा विदेशबाट हाइव्रिड (वर्णशंकर) बिउ विजन, रासायनिक मल आयात गरी जब खेतबारीमा प्रयोग गर्न सुरु गरियो तब विषादीकरण प्रारम्भ भयो । अहिले नेपालका हिमाल, पहाड र तराइका मौसमी खेती गर्ने कृषकहरुले कम्पोष्ट मल (गाइ वस्तुको गोबर) प्रयोग गर्न छाडेर
रासायनिक मल प्रयोग गर्न थाले तब देखि माटोको उर्वरा शक्ति माटोको अवस्थामा ह्रास आयो । बोट विरुवामा रोगसँग लड्ने क्षमता नष्ट भयो । विषादी प्रयोग बिना किरा फटेङ्ग्रा शत्रु जीवबाट बोट विरुवालाई जोगाउनै नसक्ने चुनौती आयो । तत्काल अर्को बिकल्प पनि देखा परेन । लगभग सबै तरकारी र खाद्यान्न बालीमा विषादी प्रयोग गर्नु नै पर्दछ, विषादी प्रयोग नगर्ने हो भने बोट, विरुवा, अन्न बालीबाट उत्पादन लिनै सकिंदैन । रोग किराबाट जोगाउन, खेतीमा गरेको लगानी निकाल्न कृषकले विषादी प्रयोग गरेन भने कृषक मारमा पर्ने अवस्था छ । विषादी प्रयोग गरेर उब्जाएको चिज विज बजारमा बिक्री गर्दा खरिद गरी खाने उपभोक्ताहरु मर्ने डर छ ।
विषादीकै कारण प्रत्येक नेपाली नानाथरिका विरामीले ग्रस्त छन् । अर्गानिक कृषि प्रणालीलाई प्रवद्र्धन गर्नु पर्ने कुरा यतिखेर चर्को रुपमा उठेको छ । अर्गानिक कृषि प्रणालीबाट उत्पादित फलफूल, अन्नबालीको भाउ पनि निकै महँगो छ र बजार पनि सुरक्षित बन्दै गएको छ । महँगो बस्तु खरिद गर्नेको संख्या सानो हुन्छ । मन्द विष भएको जान्दा जान्दै सस्तो भएको कारण विषादी प्रयोग गरेको तरकारी अन्नबाली खाने सर्वसाधारणको संख्या ठूलो छ । ठूलो संख्याका जनताहरुको स्वास्थ्यस्थिति विषादी प्रयोग भएको खाद्य सामग्रीका कारण बिग्रिरहेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न अब हामीले अर्गानिक खेती प्रणाली अपनाउन र विषादी त्याग्न गम्भीर हुनु पर्ने बेला आएको छ ।
तरकारी तथा फलफूलमा ९० प्रतिशत विषादी प्रयोग हुने गरेको छ । विषादी प्रयोग नगर्ने हो भने तरकारी तथा फलफूलको बजारमा निकै अभाव हुन सक्दछ । हिजो आज हामी सबैले तरकारी र फलफूल होइन, विष खाइरहेका छौं भन्ने महसुुस गर्नु पर्ने बेला आएको छ । सर्वसाधारण जनतामा विषादीको नकारात्मक असर देखा परेपछि सरकारले विषादी प्रयोग गरिएको तरकारी र फल फूल बिक्रीमा रोक लगाएको छ । विषादी प्रयोग गरेको तकारी, फलफूल बिक्रीमा रोक लगाएको छ । विषादी प्रयोग गरेको तरकारी, फलफूलमा प्रतिबन्ध लगाउनु भनेको कृषि प्रधान देश नेपालका कृषकहरुलाई खेती नगर भनेको हो । विषादीबाट पर्न सक्ने असरका बारेमा नेपालका कृषि विज्ञ, नीति निर्मातालाई थाहा थिएन ? दुई दशक भन्दा बढी समय देखि व्यापक विषादी विदेशबाट भित्रिंदा र कृषकहरुले प्रयोग गर्दा आँखा चिम्लिएर बसेका सरकारको कृषि मन्त्रालय र कृषि विभागका मानिसहरु कुनै बिकल्प तत्काल नदिई कृषकले उब्जाएको तरकारी र फलफूलमा विषादी प्रयोग भएको भनि बेचबिखनमा जुन प्रतिबन्ध लगाउन खोजेका छन् यो एक नाटक र अन्याय हो । सरकारले देशको कुनै एक कुनामा मात्र विषादीको अनुगमन गरेर लोकप्रियता कमाउने होइन । देशका सबै भूभाग जहाँ जहाँ विषादी प्रयोग भएका छन् त्यहाँ पुगेर जनचेतना जगाउन जरुरी छ ।
कृषकले विषादीको प्रयोग ब्यापक गरेका होइनन, रहरले, कपटपूर्ण तरिकाले विषादी प्रयोग गरेका पनि होइनन्, विषादी प्रयोग नगरी रोगबाट खेतीपातीलाई बचाउनै नसक्ने र उत्पादन नै नहुने भएपछि कृषकहरुले बाध्यता पूर्वक विषादी प्रयोग गरेका छन् । विषादी प्रयोगलाई रोक्न राष्ट्रव्यापी अभियान हुनु पर्दछ, तत्काल अर्को बिकल्प दिनु पर्दछ । विषादीको प्रयोग मानव सिर्जित समस्या हो । प्राकृतिक समस्या होइन । जब विषादीले प्रकृतिलाई चुनौती दिन्छ भने प्राकृतिक विपद पनि निम्तिन्छ नै ।
जिम्मेवारी बोकेका कृषि प्राविधिकहरुको गैर जिम्मेवारीपनले गर्दा देशमा विषादीको प्रयोग व्यापक भएको छ । कृषकले कृषि प्राविधिकको सल्लाह लिएर नै स्वदेश तथा विदेशमा उत्पादित विषादी खेतीपातीमा हालेर किरा र रोगको आक्रमणबाट जोगाउदै आएका छन् । धेरै फाइदा लिने, धेरै फलाउने भन्दा भन्दै सिंगो देश नै विषादीकरण भएको छ । चाहिने मात्रामा प्रयोग हुने विषादीले मानव स्वास्थ्यलाई असर गर्ने भनिन्छ । रोग र किरा यति शक्तिशाली भइसके तोकिएको मात्रा भन्दा बढी विषादी छर्कदा र हाल्दा पनि रोग र किरा नयन्त्रण नहुने अवस्था आएको छ । विषादीको समस्या कृषिको जल्दोबल्दो समस्या हो । मानव र पशु स्वास्थ्यसँग जोडिएको सवाल हो विषादी । विषादीको अत्याधिक प्रयोगले कृषि मैत्री किराहरु नष्ट हुने कृषि शत्रु किराहरु प्रवल हुने अवस्था आएको छ । विषादीको प्रयोगले हावा, पानी र माटो नै प्रदूषित भएको छ । मौसमी र बेमौसमी सबै तरकारीमा रोगको प्रकोप बढेको छ । मानिसको स्वास्थ्य झन झन बिग्रिरहेको छ ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment