वीरगंज उप–महानगरपालिका ढुंगे युगतर्फः कर तिर्न दुई दिन ?

क्राइमचेक प्रतिनिधि/
वीरगंज/झन्झटिलो प्रकृयाका कारण मालपोत बुझाउन गएको सेवाग्रहीहरुलाई वीरगंज उप–महानगरपालिका कार्यालयमा सास्ती हुने गरेको छ । उपमहानगरपालिका कार्यालयमा मालपोत बुझाउनका लागि अब दुई दिनको समय लाग्ने भएकाले सर्वसाधरणले सास्ती खेप्नु परेको हो ।
आर्थिक बर्ष ०७१/०७२ मा सरकारले ल्याएको नियम अनुसार नगरवासीले अनिवार्य रुपमा व्यक्तिगत सम्पत्ति विवरण बुझाउनु पर्ने भए पनि सो विषयमा सर्वसाधरणमा जानकारी
नभएकाले यस्तो समस्या उत्पन्न भएको हो । यसभन्दा अघि अघिल्लो वर्ष तिरेको मालपोत रसिद ल्याएपछि नयाँ रसिद पाईन्थ्यो तर यसवर्ष देखी भने मालपोत तिर्नका लागि नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, मालपोत तिरेको गतबर्षको रसिद लगायतका साथै ब्यक्तिगत सम्पतीको विवरण फर्म भरेर नगरपालिकाले चेकजाँच गरेपछि मात्र दोस्रो दिन आर्थिक वर्षको मालपोत रसिद प्राप्त गर्न सकिएको श्रीपुर निवासी बीरबहादुर मण्डलले बताउनुभयो ।
मालपोत बुझाउन आएका सेवाग्रहीहरुका लागि उचित ठाउँ नगरपालिकाले उपलब्ध नगराएको तथा सेवादिने स्थानमा सजिलो नभएको अर्का सेवाग्राही उमाशंकर बैठाले गुनासो गरे ।
वीरगंज उपमहानगरपालिकाका प्रवक्ता प्रेम कार्कीले हाल नगरपालिकाले एकिकृत सम्पति कर लागु गरेको र नगरवासीको सम्पूर्ण सम्पति विवरण कम्प्युटरमा राख्ने प्रकृया शुरु भएको हुंदा सेवाग्राहीले झन्झट मान्ने गरेको बताउनु भयो । त्यसैगरी राजस्व फाटका कर्मचारी हरि पोखरेलले हाल कार्यालय अव्यवस्थित रहेको र राजस्व काउन्टर मर्मतका लागि तोडफोड भएको हुंदा सेवाग्राहीलाई केही अप्ठयारो भएको स्वीकार गर्नुभयो । यता सेवाग्राहीहरुले राजस्व फाटका कर्मचारी हमिद लगायतकाले आफु निकटका सेवाग्राहीको काम छिटोछरितो गरि दिने र सर्वसाधारणको काममा ढिला सुस्ती गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
इन्फर्मेशन टेक्नोलोजी अर्थात् सूचना प्रविधिको प्रयोगले घण्टौ लाग्ने काम मिनेटमा सम्न्न हुनुपर्नेमा वीरगंज उप महानगरपालिकाको गति ढुंगे युगतिर गइरहेको देखेर नगरवासी तीन छक्क परेका छन् ।
घरबाटै इन्टरनेट प्रयोग गरेर इन्टरनेट बैंकिङको माध्यमबाट कर तिर्न मिल्ने अत्याधुनिक प्रविधि हुँदाहुँदै दुई दिन लगाएर कर तिर्न पर्ने बाध्यात्मक परिस्थितिबाट नगरवासीहरू दिक्क भएका छन् ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment