खुर्शिदको भ्रमण र नेपाली राष्ट्रियता

छिमेकी राष्ट्र भारतका विदेशमन्त्री सलमान खुर्सिदले यसै हप्ता नेपालको औपचारिक भ्रमण गरे । नेपाल एउटा स्वतन्त्र राष्ट्र हो । छिमेकी राष्ट्र भारतबाट नेपालले आपसी सहयोगको अपेक्षा राख्नु स्वाभाविक हो र नेपाललाई बिना अंकुश, बिना स्वार्थ र बिनाशर्त मैत्रीपूर्ण आपसी सहयोग गर्नु छिमेकी राष्ट्रको कर्तव्य पनि हो । दुई देशबीच मैत्रीपूर्ण सहयोग भइरहनु पर्छ । नेपालमा आसन्न संविधानसभा निर्वाचनलाई आवश्यक पर्ने सहयोग गर्ने तत्परताका नाममा भारतले नेपालको सार्वभौमिकता, अखण्डता र अक्षुण्णतामा आँच पुर्‍याउने, नेपाललाई आÇनो नियन्त्रण र प्रभावमा राख्ने हिसाबले स्वार्थको दृष्टिले कुनै पनि सहयोग, अनुदान गर्दछ भने त्यो नेपालीहरूले स्वीकार गर्नु हुँदैन । अवाञ्छित सहयोग, अनावश्यक सहयोग लिन खोज्नु भनेकै विदेशी हस्तक्षेप निम्त्याउनु हो । नेपाल–भारत सम्बन्ध राम्रो र असल छैन । नेपाल–भारत सम्बन्ध प्रगाढ छ भनेर जसले जति फलाके पनि भारतमाथि आशंका र अविश्वास गर्न नेपालीहरूले
छाड्ने छैनन् । भारतीय नेपालप्रतिको नीति, खतरापूर्ण छ । नेपाल भारत सम्बन्ध कटुतापूर्ण र तनावपूर्ण छ, त्यो सत्य र यथार्थ हो ।
भारतले नेपाललाई गर्ने जस्तोसुकै अवस्थाको जुनसुकै सहयोग गलत स्वार्थको मनसायमा आधारित छ । पछिल्लो पटक नेपाल भ्रमणका बेला भारतीय विदेशमन्त्री खुर्शिदले नेपालको संविधानसभा निर्वाचनलाई सम्पन्न गराउन भारत प्रतिवद्ध छ भन्ने भनाई नै अतिश्योक्ति छ । नेपाललाई थोरै दिएर नेपालसँगबाट धेरै लिन खोज्ने छिमेकीलाई पटक–पटक ठग्ने भारतीय नीति र व्यवहारबाट नेपाली देशभक्तहरूलाई सधैं सशंकित पार्दै आएको छ । चीन वा भारत दुबै छिमेकीले नि:स्वार्थ मनले नेपाल र नेपालीको हितकालागि गरिने कुनै पनि सहयोग नेपालले सह्द स्वीकार गर्छ । भारतले अबका दिनहरूमा नेपालमाथि नानाथरिको स्वार्थ लादेर गरिने कुनै पनि सहयोगले भारतलाई कुनै पनि प्रकारको फाइदा नपुग्ने समय देखा परेकोले भारतले नेपालप्रतिको आजसम्मको सबै गलत नीति, व्यवहार र सहयोगलाई सच्याउन आवश्यक छ ।
नेपाली राष्ट्रियता कमजोर, असफल र समाप्त पार्ने दृष्टिकोणबाट भारतले कुनै सहयोग गर्न खोज्दछ र गर्दछ भने नेपाली जनताहरूले त्यसको विरोध र बहिष्कार गर्नै पर्दछ । नेपाल न भारतको प्रान्त हो न भारतको सुरक्षा छाताभित्र रहेको औपनिवेशिक देश हो । अन्तिम हदसम्म आफ्नो स्वतन्त्र अस्तित्व बचाउन संघर्षरत नेपालले संविधानसभा निर्वाचनका नाममा सर्वाधिकार भारतलाई सुम्पन सक्दैन । नेपालका भारतमुखि गद्दार नेताहरूको भारतीय दलालीले नेपालीहरूलाई कुनै असर र प्रभाव पार्न सक्दैन । भारतीय विदेशमन्त्री खुर्शिदलाई भेट्न नेपालका राजनीतिक दलहरूका शीर्ष नेताहरू लाम लागेर होटेलमा भेट्न पुग्दा मुलुककै साख गिरेको छ । यस्तो दुर्भाग्यपूर्ण र विडम्बनापूर्ण दिन नेपालहरूले देख्नु र भोग्नुपरेको छ । यस अवस्थामा अब भारतपरस्त नेताहरू मुर्दाबाद भन्नुबाहेक अर्को कुनै विकल्प हामीसँग छैन ।
संविधानसभा निर्वाचन भईहालेको खण्डमा भारतको दलाली र चाकरी गर्ने कुनै पनि नेतालाई चुनावी मैदानबाट पराजित गराउनु भनेकै नेपालको राष्ट्रियताको विजय र सुनिश्चितता हो । नेपालको संसदमा आÇना समर्थक भारतपरस्त उम्मेदवार हरेक पार्टीमा घुसाएर संसदमा दुई तिहाई बहुमत पुर्‍याउने भारतीय ईच्छालाई शून्यमा झार्नु नै नयाँ नेपालको नयाँ प्रतिवद्धता र आवश्यकता हो । छिमेकी राष्ट्र भारतको सबैखाले उत्पीडन र प्रभावबाट मुक्त भई स्वाभिमानी नेपालीका रुपमा बाँच्न खोज्नु नै हाम्रो सौभाग्य हो । राष्ट्रिय स्वाधिनता र राष्ट्र निर्माणको ग्यारेन्टी हो । भारतीय गलत स्वार्थ र गलत सहयोगलाई बहिष्कार गरौं । भारतीय दलाल नेपालका नेताहरूलाई तिरस्कार गरौं । भारतले नि:स्वार्थ, नि:शर्त गर्ने सबै राम्रा सहयोग र सदभावलाई स्वीकार गरौं । कुटनीतिक मर्यादा भुलेर राजनीतिक शक्तिका नेताहरूलाई भारतीय विदेशमन्त्रीको चाकडी र दलालीमै आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नेतर्फ लागेर नेपाली जनताहरूलाई थप गम्भीर र संवेदनशील बनाएको छ । भारतीय दलाल नेताहरूलाई चुनावी मैदानमा पछारेर राष्ट्रवादी नेताहरूलाई जिताउने दायित्त्व नेपालीले मन मस्तिष्कमा लिए भने आगामी निर्वाचनले एकैसाथ दुष्ट छिमेकी भारत र उसका दलाल नेपालको नेताहरूको अभिष्ट समाप्त गर्नेछ । एउटा गोली दुई चराका शिकारका रुपमा एउटा गोली दुई निशानाका रुपमा आम निर्वाचनलाई नेपालीहरूले उपयोग गर्नुपर्दछ । तब राष्ट्रियता सबल हुन्छ ।
प्रकाशित मिति:२०७०असार२८ गते बिहीवार


SHARE THIS

Author:

Facebook Comment