पूर्वराजा ज्ञानेन्द्रको राष्ट्रियता अरुभन्दा बढी : नेत्रविक्रम चन्द

नेत्रविक्रम चन्द
धनगढी : नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले राष्ट्रियता र स्वाधीनताका लागि पूर्वराजसंस्थासँग पनि सम्झौता गर्न सकिने बताएका छन्। पार्टीको थारुवान राज्य समितिस्तरीय कार्यकर्तालाई प्रशिक्षण दिन धनगढी आइपुगेका चन्दले आइतबार सञ्चारकर्मीले भने, ‘राष्ट्रियताका लागि पूर्वराजामात्रै होइन जोसँग पनि सम्झौता हुन सक्छ।’

पूर्वराजा ज्ञानेन्द्रले ‘राष्ट्रमा संकट आयो मद्दत गर्छु’ भनेमा त्यसलाई इन्कार गर्न नसकिने पनि चन्दले बताए। उनले भने, ‘अहिले अरूभन्दा पूर्वराजा ज्ञानेन्द्रमै राष्ट्रियता बढी देखिएको छ।’

क्रान्तिकारी पत्रकार महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा चन्दले भने, ‘अब राष्ट्रियताका
लागि नेपाली सेना र नेपाल प्रहरी पनि सजग हुने बेला आएको छ।’ उनले कम्युनिस्ट र प्रजातन्त्रवादीबीच सहमति आवश्यक रहेको पनि बताए। तर एमाओवादीको हटौंडा अधिवेशनको लाइन यथावत् रहँदासम्म ऊसँग एकताको सम्भावना नरहेको चन्दले प्रस्ट पारे।

पार्टी अध्यक्ष मोहन वैद्यको भ्रमणका क्रममा चीनले गरेको आग्रहबारे जिज्ञासा राख्दा चन्दले असल छिमेकीले निर्वाचनमा भाग लेऊ भन्नु नौलो कुरा नभएको तर्क गरे। ‘भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण र पार्टी अध्यक्ष वैद्यको चीन भ्रमण सँगै हुनु संयोगमात्र हो, यसमा कुनै रहस्य छैन’, उनले भने, ‘छिमेकीले निर्वाचनमा जाऊ भन्नु सल्लाह हो आदेश होइन।’

चन्दले वार्ताका लागि सरकारले लेखेको पत्रमा सर्त भए पनि उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अर्को पत्र लेख्न सक्ने संकेत मिलेको जानकारी दिए। ‘मन्त्रिपरिषद् अध्यक्षले पठाएको पत्रमा सर्त तोकिएका छन् तर पार्टी अध्यक्षसँगको भेटमा प्रचण्डले सर्त हैन भनेपछि अर्को पत्र काट्न सक्छन्’, उनले भने।

गोलमेच सम्मेलनमा सबै इमानदार भए सबै कुरा मिल्ने र संविधानसभा निर्वाचन पनि गर्नु नपर्ने चन्दको दाबी थियो। उनले चार दल गोलमेचका लागि तयार हुनुलाई पार्टीले सकारात्मक रूपमा लिएको बताए। ‘गोलमेच सम्मेलनमा राज्य पुनर्संरचना, स्वरूप, जातजातिका अधिकारबारे कुरा मिल्यो भने अहिले नयाँ जनादेश जरुरी छैन’, उनले भने।

नेकपा-माओवादीले भनेको ‘जनविद्रोह’ बारे सञ्चारकर्मीले जिज्ञासा राख्दा चन्दले साउन १० गतेदेखि पार्टीको शान्तिपूर्ण जनजागरण अभियान सुरु हुने र सरकारले २०५२ सालअघिको जस्तो नीति लिए त्यसलाई डटेर सामना गर्ने तयारी भइरहेको जानकारी दिए। २०५२ सालको ‘जनयुद्ध’ को क्रान्तिकारिता अझै नसकिएको बताउँदै त्यसका लागि जनविद्रोहको घोषणा गरेको बताए।

SHARE THIS

Author:

Facebook Comment