नवलपरासी, बैशाख २४ । जन्मको आधारमा नागरिकता पाएका बाबुका सन्तानलाई नागरिकता वितरण गर्न थालेपछि नवलपरासी जिल्ला प्रशासन कार्यालयमा अहिले नागरिकता लिनेको भीड बढेको छ । नागरिकता ऐन संशोधन पश्चात त्यस्ता सन्तानलाई पहिलो पटक बंशजको नागरिकता लिन खुला भएपछि कार्यालयमा नागरिकता लिनेको भीड बढेको हो ।
अध्यादेशमार्फत नागरिकतामा पहिलो संशोधन भएपछि गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयले बैशाख १५ गतेदेखि त्यस्ता प्रकृतिको नागरिकता वितरण थालेको हो । संशोधित नागरिकतासम्बन्धि कानून अनुसार २०६३ सालमा जन्मको आधारमा नवलपरासीमा सात हजार आठ सय ६२ जनाले नागरिकता लिएको प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डेले जानकारी दिए ।
अब तिनैबाट जन्मिएका करिब २५ हजार सन्ततिले बंशजका आधारमा नागरिकता पाउने छन् । संशोधित ऐनमा बाबुले नभई आमाले मात्र त्यस्तो नागरिकता प्राएको भए आमाको नागरिकताका आधारमा मात्रै तिनले नागरिकता पाउने छैनन् ।